फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । आज आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

उक्त समितिको बैठकले मानव बेचबिखन तथा बाध्यकारी श्रमको जोखिमपूर्ण अवस्थाबाट नागरिकको संरक्षण गर्नु राज्यको दायित्वको दृष्टिकोणबाट हेरिनु आवश्यक रहेको भन्दै यससम्बन्धी राष्ट्रिय नीति बनाउन महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले श्रम बजारमा उपलव्ध हुने जनशक्तिलाई देशभित्रै रोजगारी दिने वातावरण बनाउन र सो सम्बन्धमा स्पष्टरुपमा अल्पकालीन तथा दीर्घकालीन कार्यनीति बनाएर कार्यान्वयनमा ल्याउनसमेत निर्देशन दिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न आधुनिक सूचना प्रणालीको प्रयोग गर्न निर्देशन दिएको छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा संलग्नलाई दिइने विद्यमान सजायमा पुर्नविचार गर्न पनि समितिको बैठकले सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।