फाइल तस्वीर

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज आइतबार पनि प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ । गत बुधबार र बिहीबार गरी दुई उक्त समितिमा बयान दिनुभएका जबराको आज यो बयान दिनुभएको तेस्रो दिन हो ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिनु अघि समितिको बैठक बसेको थियो । समिति बैठक सकेलगतै समितिमा उपस्थित हुनुभएका जबरासँग बयान लिनेक्रम सुरुभएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले अघिल्ला दुई दिन ६ वटा प्रश्नको जवाफ दिनुभएको थियो । समितिले जबरासँग सोध्नका लागि ४३ वटा प्रश्न तयार पारेको थियो ।

आज बयान समितिका सदस्यहरुले सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालालाई सजाय छुट गराउन गरेको फैसलामा सोध्नुभएको प्रश्नको जवाफ दिंदै निलम्बित प्रधानन्यायाधीश जबरा उक्त फैसला गल्ति भएको माफी माग्नु भएको छ ।

समितिमा आज बयान दिनेक्रममा महाअभियोग खेपिरहेका निलम्बित प्रधानन्यायाधीश जबराले ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ । यो पारिवारिक मुद्दा हो। नाबालकले छोराहरू इजलासमा उपस्थित भए। ८ वर्ष ६ महिना कैदमै बसेका थिए ।

न्यायाधीशले मिसिल हेरेर, विवेक प्रयोग गरेको हो । नाबालकहरुको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका दिइएको हो । त्यसमा गल्ती भएको छ । विवेक प्रयोग गर्दा, यदि त्यसैको आधारमा महाअभियोग लगाएको हो भने, जनता समक्ष क्षमा चाहन्छु । मलाई प्रायश्चित भएको छ’–भन्नुभयो ।

आफ्नै श्रीमती गीता ढकालको हत्या अभियोगमा २० वर्ष जेल सजाय सुनाइएका पूर्वडिआइजी कोइराला सजाय छुट गरी ८ वर्ष ६ महिना मात्रै सजाय तोक्नु भएको र हत्या अभियोगमा जेलमा बसिरहेका पूर्वडिआइजी कोइराला प्रधानन्यायाधीश जबराकै आदेशमा जेल मुक्त भएका थिए ।

यद्यपि, उक्त मुद्दामा तत्कालिन पुनरावेदनको आदेशलाई नै कायम गरेर सर्वाेच्च अदालतले सजाय थप गरी २० वर्ष नै कायम गरिएको छ । यतिबेला अभियुक्त कोइराला पुनः जेलको कठघरामा पुगेका छन् ।