फाइल तस्वीर

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारती सरकारले गरेको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको नयाँ भवन तथा प्रयोगशालाको आज शनिबार उद्घाटन गर्नेक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

नेपालको शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमा भारत सरकारबाट ठूुलो सहयोग भएको चर्चा गर्दै गृहमन्त्री खाँणले यस किसिमको सहयोगका लागि भारत सरकारप्रति आभार प्रकट गर्नुभयो ।

एउटा गतिशील मुलुकको रुपमा नेपाल अघि बढिरहेको र नेपाल–भारत असल छिमेकी देश समेत भएको प्रस्ट पार्दै दुई देशको सम्बन्ध प्रगाढ रहेको भन्दै गृहमन्त्री खाँणले ‘नेपाल र भारतको भाषा, भेषभुषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो रहेकोले जनस्तरदेखि नै बलियो सम्बन्ध छ’ भन्नुुभयो ।

गृहमन्त्री खाँणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकको रुपमा स्थापित गरेको चर्चा गर्दै नेपाली जनतालाई सबल र सक्षम बनाउनु पर्ने जोड दिनुुभयो ।

सोही कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले सो विद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण उपलब्धी भएको धारणा व्यक्त गर्दै भारतमा पनि छात्राको शिक्षामा सरकारले विशेष जोड दिंदै आएको उल्लेख गर्नुभयो । सो अवसरमा राजदुर श्रीवास्तवले नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो । उक्त विद्यालयको नयाँ भवन भारतीय सरकारको सहयोगमा निर्माण भएको हो ।