फाइल तस्वीर


काठमाडौं – नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो कमजोरीहरु छोप्न अरूको मानमर्दन गरिरहेको आरोप लगाउनु भएको छ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा अन्तर्गत रहेको महाअभियोग सिफारिस समितिमा उपस्थित भै बयान दिंदा अरुमाथि आरोप लगाउनु भएको सन्दर्भमा नेपाल बारका पूर्वमहासचिव पौडेलले यस्तो भनाइ सार्वजनिक गर्नुभएको हो ।

निलम्बित प्रधानन्यायाधीश राणाले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा महासचिव पौडेलसहित बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरूमाथि, न्यायाधीश नियुक्तिमा भाग खोजेको, आफैँ नियुक्तिका लागि प्रस्ताव गरेकोसहितका गम्भीर आरोप लगाउनु भएको थियो ।

राजधानीमा आज आयोजित काठमाडौं जिल्ला बार एसोसिएसनको पद हस्तान्तरण तथा वार्षिक साधारणसभामा बोल्दै पूर्वमहासचिव पौडेलले राणा न्यायाधीश हुँदादेखिको इतिहास आफुलाई थाहा भएको भन्दै गलत मान्छेले लगाउने आरोपको औचित्य नहुने बताउनु भएको छ ।

निलम्बित प्रधानन्यायाधीश राणाले समितिमा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै पूर्वमहासचिव पौडेलले राणा न्यायाधीशमा प्रवेश हुँदासमेत कसैमाथि मुद्दा हालेर त्यो फिर्ता लिएबापत नियुक्ति खाएको, तर आफू त्यस्तो बाटोमा कहिल्यै नलागेको दाबी समेत गर्नुभएको छ ।

‘मलाई न्यायाधीश नियुक्ति नपाएर आन्दोलन गरेको आरोप लगाउनुभएको सुनियो । मैले सुशिला कार्की प्रधानन्यायाधीश भएका बेला नियुक्तिका लागि पहल गर्नेबाहेक कुनै नियुक्तिको खोजी गरेको छैन ।’ बारका पूर्वमहासचिव पौडेलले भन्नुभयो ‘उहाँ प्रधानन्यायाधीश भएपछि त मैले त्यो काम गरेकै छैन ।’ न्यायपालिका सञ्चालन र न्याय निरूपणमै असफल भएर महाभियोग लागेका व्यक्तिको अरूलाई आरोप लगाएर आफू बलियो हुन्छु भन्ने सोच दयनीय छ ।”

पूर्वमहासचिव पौडेलले इतिहास नै ठिक नभएको व्यक्ति प्रधानन्यायाधीश हुँदा न्याय क्षेत्रमा समस्या आएको धारणासमेत राख्नुभयो । ‘सुरेन्द्रबहादुर सिंह प्रधानन्यायाधीश बन्न अयोग्य छन् भनेर अधिवक्ताको हैसियतमा उहाँले रिट हाल्नुभएको थियो । पछि न्यायाधीश बन्ने सर्तमा त्यो रिट फिर्ता लिएर उहाँ न्यायाधीश नियुक्त बन्नुभएको हो,’ काठमाडौं बारको कार्यक्रममा बोल्दै पूर्वमहासचिव पौडेलले भन्नुभयो ‘उहाँबाट भएका फैसलाको नागरिकस्तरमा कस्तो मूल्याङ्कन गरिएका छन् भन्ने कुरा जगजाहेरै छ । अहिले अरुमाथि आरोप थोपरेर राणा चोखो हुनुहुन्न र उहाँले लाएका झुठा आरोप पुष्टि पनि हुन सक्दैनन् ।’