फाइल तस्वीर

काठमाडौं – सरकारका गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्र्न निर्देशन दिनुभएको छ । आज शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्नुहुँदै गृहमन्त्री खाँणले यस्तो निर्देशन दिनुभएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट रकम उपलब्ध गराइँदै आएको छ । विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको भन्दै सार्वजनिक खरिद ऐन लागू हुने हुँदा प्रचलित कानुन अनुसार कोषको रकम खर्च गर्नुपर्न पनि गहृमन्त्री खाँणले प्राधिकरणलाई सुझाउनु भएको छ ।

कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँण ‘यो वर्ष पनि बाढीपहिरोका कारण विभिन्न स्थानमा क्षति गरेको छ । विपद् प्राधिकरणसँग सरकारले प्रदान गरेको कोष भएता पनि स्थानीय तह र स्थलगत रुपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन भएको अवस्था छैन । नेपाल सरकारका विभिन्न मन्त्रालय र मातहतका विभागलाई क्रियाशिल बनाउनुपर्ने, सहयोग र समन्वय गर्नुपर्ने अवस्था रहेको छ । यो वर्ष बाढीपहिरोले क्षति गरेको छ, त्यहाँ स्थानीय पालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन प्राधिकरण र मन्त्रालय प्राविधिक सहयोग लिन सक्नुपर्छ’ भन्नुभयो ।

उहाँले विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहमा विपद् जोखिम न्यूनिकरणका लागि पठाएको रकम विपद् व्यवस्थापनामा नै खर्च गर्नुपर्ने बताउनुभयो । मन्त्री खाँणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरु गम्भीरतापूर्वक कार्यान्वयन गर्ने पनि निर्देशन दिनुभयो ।

गृहमन्त्री खाँणले ‘प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णयहरु गम्भीरतापूर्वक कार्यान्वयन हुनुपर्छ । विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै खर्च हुनुपर्छ । स्थानीय तहमा विपद् जोखिम न्यूनिकरणका लागि खर्च गर्न पठाएको रकम सदुपयोग हुन सक्नुपर्छ । प्राधिकरणको आर्थिक पद्धती र प्रक्रिया छ । त्यहाँ पनि सार्वजनिक खरिद ऐन लागू हुन्छ । त्यसले प्रचलित कानुन अनुसार नै खर्च हुनुपर्छ । राज्य कोषबाट विपद् जोखिम न्यूनिकरणको लागि उपलब्ध भएको बजेट शतप्रतिशत नै सदुपयोग हुनुपर्छ । प्राधिकरणले शतप्रतिशत रकम सदुपयोग गर्न क्रियाशिल बन्नुपर्छ’ भन्दै प्राधिकरणलाई निर्देशन दिनु भयो ।

यो वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढीपहिरोका कारण ठूलो क्षति भएको भन्दै गृहमन्त्री खाँणले विपद् प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भए पनि स्थानीय तह र स्थलगत रुपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको प्रति गुनासो व्यक्त गर्नुभएको छ । मन्त्री खाँणले ‘विपद् व्यवस्थापनको लागि स्थानीय गाउँपालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको’ पनि बताउनु भयोे ।