फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने धारणा राख्नु भएको छ ।

प्रधानमन्त्री देउवाले आज शुक्रबार ६९ औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा काठमाडौंको पुलतिसडकस्थित शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले विश्वविद्यालय विद्या आर्जन गर्ने स्थान भएकाले यस भित्रका समस्या समाधानका लागि सबैले पहल गर्नुपर्छ भन्दै ‘राजनीतिक पूर्वाग्रह’बाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सधैं प्रतिबद्ध रहेको भन्दै गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो । सोही अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले शङ्करदेव क्याम्पसलाई नजिकै रहेको समाज कल्याण परिषद्को खाली जग्गा समेत उपलब्ध गराउन मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्रिभूवन विश्वविद्यालयको कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हट्तालले समस्या समाधान नहुने बताउनु भयो । प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै‘ विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन । राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ’ भन्नुभएको छ ।

शैक्षिक क्षेत्रको उन्नयनको लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न पनि आफु तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । त्रिभूवन विश्वविद्यालय यतिबेला चरम समस्यामा गुज्रिंदै गएको छ ।