फाइल तस्वीर


काठमाडौं – नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेसँग मूल्य बढाइएको छ । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७२ रुयैयाँ कायम भएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने मूल्य बढाएको छैन । पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १८१ रुपैयाँ हवाई इन्धन (आन्तरिक) को १९० रुपैया, हवाई इन्धन (बाह्य)को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय नै तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो दुई सातादेखि पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्न थालेको छ ।

नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको इण्डियन आयल कर्पोरेसनले निगमलाई बिहीबार नै नयाँ मूल्यसूची पठाएको थियो । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ ।

मट्टीतेल र खाना पकाउने एलपी ग्यासमा भने केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि एक महिनामा ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।