फाइल तस्वीर

काठमाडौं – सङ्घीय संसद अन्तर्गतका दुबै सदनहरुको बैठक आज शुक्रबार बस्ने भएका छन । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधिसभा र ३ बजे राष्ट्रियसभाको बैठक बस्ने तय भएको हो ।

संसद् सचिवालयले जनाएका आज बस्ने प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक – २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकोे छ ।

यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

आजै शुक्रबार दिउँसो ३ बजे बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचार गर्न फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ ले विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिमा छलफल भएको थियो । उक्त समितिमा छलफल भएपछिको विधेयकलाई राष्ट्रियसभा बैठकले कुनै संशोधन नगरी जस्ताको तस्तै आजै पास गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।