फाइल तस्वीर

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको यही भदौ १० र ११ गते गरी दुईसम्म बसेको पार्टीको चांैथो केन्द्रीय कमिटीको बैठकको निर्णयलाई हिजो बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो ।

उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता, निर्वाचन कानूनबमोजिमको योग्यतालगायतका आधार निर्धारण गरिएका छन् ।

निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा प्रदेश र जिल्ला कमिटीहरुले रायसहित केन्द्रमा सिफारिस गर्नुपर्ने भएको छ । समानुपातिकतर्फ सिफारिस गर्दा समावेशीताका आधारमा गर्नुपर्नेछ । यसैगरी पार्टीका जनसङ्गठनको केन्द्रीय तहबाट एक जना महिलासहित तीन जनालाई समानुपातिकमा सिफारिस गर्नुपर्ने एमालेले व्यवस्था गरेको छ ।