फाइल तस्वीर

काठमाडौं – राष्ट्रपति कार्यालयले फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ सम्बन्धी प्रतिवेदन विधायन व्यवस्थापन समितिले राष्ट्रियसभामा पेस गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकमा समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको हो ।

समितिमा उक्त विधेयकमाथि दुई दिन छलफल भएता पनि पुनः जस्ताको तस्तै पारित भएको थियो । विधेयकका सम्बन्धमा भएको छलफलका क्रममा गृह तथा कानुन मन्त्रालयलगायत सरोकारवाला सबै पक्षहरुसँग छलफल गरेको समितिका जेष्ठ सदस्य मिश्रले जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पनि पेस गरिएको थियो ।

यसैगरी आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेस गर्नुभएको थियो ।