फाइल तस्वीर


काठमाडौं – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा साझा उम्मेदवार उठाउने गरी सिट बाँडफाँटका निम्ति यतिबेला पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । हिजो बुधबार बसेको बैठकले गठबन्धनका पाँच दलका लागि सिट बाँडफाँडमा सहमति जुट्न नसकेपछि आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटलाई आजै टुङ्ग्याउने गरी छलफल चलिरहेको छ । हिजोको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुग्नुभएको स्रोतको भनाइ छ । आजको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सिट बाँडफाँटको विषयमा निरन्तर छलफल गरिरहनुभएको बालुवाटार स्रोतले बताएको छ ।