फाइल तस्वीर

काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बिहीबार पनि महाभियोग सिफारिस समितिले बयान लिने कार्य सुरु गरेको छ । जबरासँग सिंहदरबारस्थित महाभियोग सिफारिस समितिले केहीबेर अघिदेखि सोधपुछ गर्ने कार्य थालेको हो ।
हिजो बुधबारबाट निलम्बित प्रधान्यायाधीश जबरासँग सोधपुछ गर्ने काम प्रारम्भ गरेको थियो । हिजो पनि दुई घण्टा ढिला गरी सुरु भएको बयानको प्रश्नोत्तर कार्यक्रम आज बिहान ११ बजेदेखि गर्ने भनिए पनि समितिका सदस्यहरू ढिलो आएका कारण केहीबेर अघिदेखिमात्र बयान लिने काम भएको छ । समितिका सदस्यहरुभन्दा निलम्बित प्रधान्यायाधीश जबरा पहिला उपस्थित भैसक्नु भएको थियो ।

हिजो बुधबार करिब साढे तीन घण्टासम्म महाअभियोग सिफारिस समितिमा जवराले आफूविरुद्ध लागेका आरोपहरूको सफाइ पेस गरेर निस्कनु भएको थियो । हिजोको बयानमा निलम्बित प्रधान्यायाधीश जबरा अरुलाई आरोप लगाउनु मात्र काम गर्नुभएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी गराउनु भएको थियो ।

महाभियोग सिफारिस समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो भने जबराले हिजो बुधबार ४ वटा प्रश्नको मात्र जवाफ दिनुभएको थियो । बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको जिकिर गर्नुभएको छ ।

महाभियोग सिफारिस समितिमा सोधपुछको जवाफ दिने क्रममा उनले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको दावी गरिरहनु भएको छ । प्रधानन्यायाधीश जवराको बयान लिनेक्रम अझै केही दिन लाग्न सक्ने समितिका एक सदस्यले बताउनु भएको छ ।