फाइल तस्वीर

काठमाडौं – आज ऋषि पञ्चमी पर्व । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वका दिन हिन्दु ब्रतालु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।
हरितालिका तीजको अन्तिम दिनका रुपमा ऋषि पञ्चमीलाई लिइन्छ । आजको दिन महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तीवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाइ स्नान गर्ने गर्दछन् ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज बिहानैदेखि काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरहरुमा पूजाआराधना गर्ने श्रद्धालु महिलाको भीड लागेको छ ।