फाइल तस्वीर

काठमाडौं – छ महिना अघि निलम्बनमा पर्नुभएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि महाभियोग सिफारिस समितिले सोधपुछ गर्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश जबरालाई उक्त समितिले सिंहदरबारस्थित समितिको बैठक कक्षमा ११ बजेका लागि बोलाएको छ ।

हिजो बुधबार झण्डै साढे तीन घण्टासम्म महाअभियोग सिफारिस समिति र निलम्बित प्रधानन्यायाधीश जबराबीच प्रश्नोत्तर चलेको थियो । सो बखत निलम्बित प्रधानन्यायाधीश जबराले आफूविरुद्ध लागेका आरोपहरूको सफाइ दिंदै खण्डन गर्नुभएको थियो ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको छ । हिजो बुधबारबाट सुरु भएको प्रश्नोत्तरमा जबराले ४ वटा प्रश्नको मात्र जवाफ दिनुभएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क पेश गर्नुभएको थियो ।

महाभियोग सिफारिस समितिमा सोधपुछको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको दावी समेत गर्नुभएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले सांसदहरूलाई आफूभन्दा पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजेको आरोप पनि लगाउनु भएको थियो । जबराले समितिमा आफ्नो प्रतिरक्षात्मक भनाइ पेशगर्नुको सट्टा प्रतिशोधात्मक रुपमा प्रस्तुत हुनुभएको समितिका सदस्यहरुको बुझाइ छ ।

गत फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सदस्यहरुले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराउनु भएको थियो । गत साउन २२ गते प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनु भएको थियो ।