फाइल तस्वीर

काठमाडौं – राष्ट्रियसभाको बैठक आज बिहीबार बस्ने भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।


आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् राष्ट्रियसभाको सचिवालयले जनाएको छ ।

यसैगरी राष्ट्रियसभामा नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) २०७९ समेत पेश हुनेछ । राष्ट्रियसभा अन्तर्गत रहेको विधायन समितिको बैठकले नागरिकता विधेयकलाई हिजो बसेको बैठकले कुनै संशोधन नगरी जस्ताको तस्तै पास गरेको थियो ।