फाइल तस्वीर

काठमाडौं– सत्ता गठबन्धन दलहरुबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल गर्न आज बिहीबार पनि बैठक बस्ने भएको छ । सिट बाँडफाँडको टुङ्गो लगाउने भनि हिजो बसेको सत्तागठबन्धनको बैठक निष्कर्षहिन भएकोले सोही विषयलाई निष्कर्षमा पु¥याउन आज पनि बैठक बस्न लागेको हो । सत्ता साझेदार दलहरुको बैठक हिजो बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बसेको थियो ।

प्रतिनिधिसभा निर्वाचनका कुल सिट सङ्ख्यामध्ये सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले एक सय सिटमा दावी गर्दै आएको छ भने दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पनि कम्तिमा ६० सिटमा दावी गदै आएको छ । कुल १६५ सिट निर्वाचित हुने प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट चोइटिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि ४० सिटमा दावी गरेको छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि ३२ सिट मागेको छ । त्यसैगरी सत्तागठबन्धनकै सबैभन्दा सानो घटक राष्ट्रिय जनमोर्चाले पनि २ सिटमा आफ्नो दावी कायम राखेको छ ।

यसरी हेर्दा सत्ता गठबन्धन दलहरुको आ–आफ्नै दावीलाई हेर्दा दुई सय ३४ सिटको दावी देखिएको छ । सत्ता साझेदार दलहरुले आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरी उक्त सिट सङ्ख्यामा दावी गर्दै आएका हुन् । निर्वाचनको मिति घोषणा भएसँग गठबन्धन दलहरुले सिट बाँडफाँड गरेर संयुक्त रुपमा चुनावी मोर्चामा जाने प्रतिबद्धता जनाएका थिए । जति निर्वाचनको मिति नचिकिंदै आएको छ त्यति नै गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषय पनि पेचिलो बन्दै आएको देखिन्छ ।

सत्ता गठबन्धनको बैठक बस्नु दुई साता अघिमात्रै नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसी काङ्ग्रेसले एक सय सिटभन्दा कम सिटमा जान नसकिने भन्दै प्रधानमन्त्री समेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवालाई सय सिटको बटम लाइन नै तोकेको थियो । र, सोही अनुरुप नेपाली काङ्ग्रेस गठबन्धन दलको सिट बाँडफाँड गर्ने बैठकमा टसको मस नहुँदा विवाद बल्झिंदै गएको छ । नेकपा माओवादी केन्द्रलगायतका सत्ता साझेदार दलहरुले नेपाली काङ्ग्रेसले कुट सिट सङ्ख्याको ५० प्रतिशत र बाँकी ५० प्रतिशत अन्य दलहरुलाई दिनु पर्नेमा जोड दिएका थिए ।

सत्ता साझेदार दलहरुको गठबन्धनलाई बलियो बनाएर जाने हो भने सिट बाँडफाँडमा गठबन्धन दलहरु सबैले आ–आफ्नो हठ त्याग्नु पर्ने देखिन्छ । यसका लागि नेपाली काङ्ग्रेसले ७५ सिट, माओवादी केन्द्रले ४५ सिट, एकीकृत समाजवादीले २७, जनता समाजवादीले १६ सिट र राष्ट्रिय जनमोर्चाले २ सिटमा समझदारी गर्नु पर्ने हुनसक्छ । तर नेपाली काङ्ग्रेसले गत बैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनको परिणामलाई आङ्कलन गर्दै एक सय सिटभन्दा तल नझर्ने बटम लाइन नै बनाएको छ । यसरी हेर्दा सत्ता साझेदार दलहरुबीच आगामी निर्वाचनमा गठबन्धन हुने सम्भावना प्रति आशङ्का गर्ने धेरै ठाउँ छ ।

नेपाली काङ्ग्रेसले गठबन्धनलाई सिट बाँडफाँडमा सन्तुलन बनाउन नचाहेमा नेकपा एमालेसहितको कम्युनिस्ट घटकहरुबीच चुनावी तालमेल हुने सम्भावनालाई नकार्न मिल्दैन । यही गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा गएको खण्डमा एमालेलाई ठूलो धक्का पुग्न सक्दछ भने, नेपाली काङ्ग्रेसलाई छोडेर कम्युनिस्ट घटकहरुबीच चुनावी मोर्चा बनेको खण्डमा नेपाली काङ्ग्रेसले ठूलो क्षति व्यहोनु पर्ने देखिन्छ ।

अहिलेकै गठबन्धनलाई जोगाइ राख्नमात्र नभै नेपाली काङ्ग्रेसले आफ्नो भविष्यलाई सुरक्षित र बलियो बनाउनका लागि पनि सत्ता साझेदार दलहरुसँग उदार रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता छ ।