फाइल तस्वीर


धनगढी – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एक सय ५० सिट जित्ने दावी गर्नुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा पार्टी जिल्ला कमिटीले आज बुधबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएको हो ।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेले जितेमात्रै देशले जित्ने जिकिर गर्दै ‘गठबन्धनले जिते देश हार्छ, विकास र समृद्धि हार्छ त्यसैले एमालेले जित्नुपर्छ । देशलाई जिताउने अभियानमा सबै सरिक हुनुहोस् भन्दै ‘आगामी निर्वाचनमा हामी प्रत्यक्ष र समानुपातिक गरेर कम्तिमा एक सय ५० सिट जित्नेछौं र दुनिया चकित पर्नेछन्’ भन्नुभयो । उहाँले सोहीक्रममा बोल्दै एमाले सत्ता बाहिर हुँदासमेत एमालेमा प्रवेश गर्ने जनलहर बढेको दावी समेत गर्नुभयो ।

सत्ता गठबन्धनमा नेताहरु देखिए पनि वास्तवमा नेकपा एमालेप्रति नै जनताको विश्वास रहेको धारणा व्यक्त गर्नुभएको थियो । अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रहरुको गुलामी बनेको आरोप समेत लगाउनु भएको छ । लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसप्रति आफ्नो स्पष्ट धारणा व्यक्त गर्नुको सट्टा उल्टै यी भू–भागलाई समस्याग्रस्त भएको बताउने गरेको ओलीको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले आमसभामा बोल्दै ‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो ? म्याउ म्याउ म्याउ गर्नुभयो’ भन्दै प्रधानमन्त्री देउवाप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाप्रति लक्षित गर्दै ‘लिपुलेक, कालापानी फिर्ता देऊ भन्नुपर्दैन ?’ भनि प्रतिप्रश्न गर्नुभएको थियो ।

एमाले कञ्चनपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस लगायत विभिनन पार्टीबाट नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । विभिन्न राजनीतिक दलहरुबाट एमालेमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।