फाइल तस्वीर

काठमाडौं – सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेकोको विधायन व्यवस्थापन समितिको बैठक आज बुधबार बस्ने भएको छ । राष्ट्रपतिको कार्यालयबाट पुनर्विचार गर्न फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

समितिको उक्त बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । आइतबार बसेको राष्ट्रियसभाको बैठकबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ उक्त समितिमा पठाइएको थियो । त्यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि उक्त विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको थियो ।

प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित गरी उक्त विधेयक राष्ट्रियसभामा पठाइएको थियो । विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफलपछि प्रतिवेदनसहित पुनः राष्ट्रियसभामा पेस हुनेछ ।

नागरिकता सम्बन्धी विधेयक विवादास्पद बन्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलगायत संसदमा प्रतिनिधित्व नगरेका राजनीतिक दलका साथै बौद्धिक जगतले उक्त विधेयक नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता माथि नै आघात पुग्ने भएको भन्दै विरोध गर्दै आएका छन् ।