फाइल तस्वीर


काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बुधबार बयान लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको भदौ ७ गते बसेको बैठकले जबरालाई बयानका लागि भदौ १५ गते बुधबारका लागि बोलाउने निर्णय गरेको थियो । उक्त समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले कार्यतालिकासमेत संशोधनसहित आन्तरिक कार्यविधि पारित गरेको छ । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जवरा निलम्बनमा पर्नु भएको थियो ।

यसैबीच, महाभियोग सिफारिस समितिले जबराविरुद्धका प्रमाणहरुसहितका कागजात र जानकारी भएका कुराहरु उपलब्ध गराउन समेत निर्देशन दिएको थियो । सङ्घीय संसदले भदौ १० गते सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी निलम्बित प्रधानन्यायााधीश जबराविरुद्ध कुनै प्रमाणहरु, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको थियो ।

निलम्बित प्रधानन्यायाधीश जवराविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनले महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई प्रमाण उपलब्ध गराएको छ । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले माग गरेबमोजिम नेपाल बारको कार्यसमितिको बैठकले जबरालाई पदमुक्त गर्नुपर्ने आधार प्रमाणका रूपमा पेस गर्ने निर्णय गरेको थियो ।

नेपाल बारले प्रमाणका रूपमा प्रधानन्यायाधीश जबराले विभिन्न मितिमा गरेका फैसला, विभिन्न मितिमा पत्रपत्रिकामा आएका लेख तथा समाचारहरुलाई समेत सम्लग्न गरी महाअभियोग सिफारिस समितिमा पेस गरेको छ । नेपाल बारले महाअभियोग प्रस्ताव पारित गरेर निलम्बित प्रधानन्यायाधीश जबरालाई पदमुक्त गरिदिन संसद्लाई आग्रह गरेको छ ।