काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका विभिन्न भागमा पनि बिहानैबाट वर्षा भइरहेको छ । देशका केही भागमा गएराति देखिनै भारी वर्षा भइहेको छ । विशेषगररी गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको हो ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी पूर्व र पश्चिम तथा चितवन र आसपास धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।

आज राति पनि प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।