काठमाडौं – जेठमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भए अनुसार भोलिसम्ममा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।

बोर्डका अध्यक्ष शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा भने ठोस निर्णय भइनसकेको पनि जानकारी गराउनु भयो । कक्षा १२ को परक्षिा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो । जेठ महिनामा सञ्चालित उक्त परीक्षामा ४ लाख बढी परीक्षार्थीले परीक्षा दिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार यसपटक आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीन प्रकारले १२ कक्षाको नतिजा प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएअनुसार ग्रेड वृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार प्रकाशन हुने र नियमित तर्फको परीक्षार्थीको लेटर ग्रेडिङ हुने छ ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क ल्याउनुपर्नेछ भने सैद्धान्तिकतर्फ कुनैपनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ । तोकिएको अङ्कभन्दा कम अङ्कल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न भने पाउने छैनन् ।
अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार भने सैद्धान्तिकतर्फको अङ्कमा प्रयोगात्मक अङ्क जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ । कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर र एनटीसीको वेबसाइटबाट पनि थाहा पाउन सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।