फाइल तस्वीर ।


काठमाडौं – निर्वाचन आयोगले आगामी निर्वाचनको प्रचार प्रसारमा कडाइ गर्ने भएको छ । आयोगले हिजो सोमबार राजपत्रमा प्रकाशित गरेको ‘निर्वाचन आचारसंहिता २०७९’ मा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सामाजिक सञ्जालमार्फत प्रचारमा कडाइ गरेको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार आयोगले तोेकेको मितिदेखि लागू हुने गरी सार्वजनिक भएको आचारसंहितामा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न गराउन नहुने, चुनावलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न, फेक साइट खोल्न नहुने उल्लेख छ ।

त्यस्तै सामाजिक सञ्जालमार्फत् चुनावलाई प्रभाव पार्ने उद्देश्यले अरुलाई होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण हेट स्पिच गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न नपाउने उल्लेख छ ।

त्यस्तै सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न पनि आचारसंहिताले निषेध गरेको छ।

त्यस्तै आयोगले आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट जस्ता सामाग्रीको प्रयोग गर्न नहुने उल्लेख छ। चुनाव प्रचारसँग सम्बन्धित स्टीकर, लोगो, झोला, व्याज, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न पनि निषेध गरेको छ ।

आचारसंहितामा प्रदेश वा सङघीय मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रचार प्रसार गर्न पाउने राजपत्रमा उल्लेख गरिएको छ । मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्य निर्वाचन क्षेत्रमा गएर उम्मेदवार र निर्वाचनको प्रचार गर्न जान निषेध गरिएको छ ।