फाइल तस्वीर


काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक पर्ने सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले निर्वाचन प्रक्रियामा प्रयोग हुने महत्त्वपूर्ण सामग्रीहरूको खरिदका लागि ४५ दिनभित्र आपूर्ति गर्ने गरी ११ करोड ४७ लाख दुई हजार ३५० को निर्वाचन सामग्री खरिद गर्न लागेको हो ।

आयोगले मङ्गलबार बोलपत्र स्वीकृत गरिएको सूचना प्रकाशित गर्दै २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने निर्वाचनका लागि आवश्यक सामग्रीहरू खरिद सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

खरिद गरिएका सामग्रीहरूमा गोप्य मतदानका लागि प्रयोग हुने छेकाबार, रबर म्याट, सुरक्षा सिल, स्वस्तिक छापलगायत रहेका छन् । आवश्यक तयारीहरू धमाधम अघि बढाएको बताउनुहुँदै सहसचिव समेत रहनु भएका प्रवक्ता पौडेलले समय लाग्ने खालका तयारी र खरिद सामग्रीहरूलाई तत्काल सुरु गरिएको बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सरकारले तोकेको निर्वाचन मिति आउन अब ८२ दिन मात्र बाँकी रहेको छ । आयोगले भदौ १ गतेसम्म बोलपत्र दर्ता समय तोकेर कम्पनी छनौट गरी खरिदको प्रक्रिया अघि बढाएको हो । आयोगले मङ्गलवार चारवटा कम्पनी छनौट गरेको सूचना प्रकाशित गरेको थियो ।

आयोगले भदौ १५ गतेसम्म ठेक्का सम्झौता स्वीकृत हुने बोलपत्र दाताले कार्य सम्पादन जमानत र ठेक्का नम्बरमा उल्लेखित निर्वाचन सामग्रीहरू ४५ भित्र आपूर्ति गर्नुपर्ने छ ।