फाइल तस्वीर
काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत परिषद्ले विद्यालय बन्दको कार्ययक्र स्थगित गरेको हो ।
मन्त्रालयले यही भदौ १२ गते आइतबार आन्दोलतर परिषदलाई वार्तामा आउन आग्रह गरेको थियो । मन्त्रालयले वार्तामा आउनु अनुरोध गरेपछि विद्यालयका कर्मचारीको छाता सङ्गठन नेपाल विद्यालय कर्मचारी परिषद्को बैठकले सरकारसँग वार्तामा बस्ने र हालको आन्दोलनलाई स्थगित गर्ने निर्णय गरेको हो ।
परिषदले भदौ १२ देखिे देशैभरका सामुदायिक विद्यालयमा तालाबन्दी गर्दै पठनपाठनको कार्य रोकेको रोक्दै आएको थियो । परिषद्ले विद्यालय बन्दका सबै कार्यक्रमहरु स्थगित गरेपछि विद्यालयमा आजदेखि पुनः पढाइ सञ्चालन हुने बताइएको छ ।
आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्र, महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा विद्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको उल्लेख छ ।
विद्यालय कर्मचारीले पारिश्रमिक वृद्धिलगायत विभिन्न सेवा सुविधाका माग राखेर भदौ १ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।