फाइल तस्वीर ।


काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिने म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले सहमति जनाएको छ । आगामी निर्वाचनको सुरक्षाका लागि करिब १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थमन्त्रालयले यस्तो स्वीकृत दिएको हो ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजारभन्दा धेरै म्यादी प्रहरी भर्ना गर्नुपर्ने आवश्यकता प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले भने उक्त प्रस्तावित सङ्ख्यालाई कटौती गरी म्यादी प्रहरी भर्ना गर्न अनुमति दिएको छ । यसअघि, गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको प्रयोजनाका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न बाटो खुलेको छ ।

निर्वाचनको मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमाभन्दा म्यादी प्रहरी धेरै चाहिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सबै कारागारमा मतदान केन्द्र रहने हुनाले थप सुरक्षाकर्मी चाहिने उसको भनाइ छ । अर्थ मन्त्रालयले सहमति दिएसँगै कानुनी व्यवस्था अनुसार प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाएर अब छिटै म्यादी प्रहरीका लागि दरखास्त आह्वान गर्नेछ ।

स्थानीय तहको गत निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई सोझै भर्ना गर्नेबारे पनि छलफल भइरहेको प्रहरी प्रधान कार्यालयको भनाइ छ । स्थानीय तहमा खटिएकाहरुलाई प्रशंसापत्रसहित आए सिधै भर्ना गर्ने विषयमा पनि छलफल भइरहेको स्रोतको भनाइ छ । तालिम यसबाट म्यादी प्रहरीलाई तालिम दिंदा खर्च हुने रकममा केही कटौती हुन सक्ने भन्दै त्यसबारे पनि कार्यविधि तयार गरेर गृह मन्त्रालयमा स्वीकृतिका लागि पठाइने भएको छ ।