फाइल तस्वीर

काठमाडौं – सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको टुङ्गो लगाउन गठित कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्न लागेको हो ।

काङ्ग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा काङ्ग्रेसको एकल दाबी छ । यस्तै माओवादीको एकल दाबी रहेका करिब १० सिट मात्र छन् । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ६ सिटमा जसपाको र दुई सिटमा एकीकृत समाजवादीको एकल दाबी छ । तर, राष्ट्रिय जनमोर्चाले दाबी गरेका दुई सिटमा भने गठबन्धनभित्र दोहोरो दाबी छ ।

जनमोर्चाले प्युठान र बागलुङ–१ मा दाबी गरेको छ । तर प्युठानमा नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमका लागि माओवादीले कार्यदलमा दाबेदारी राखेको छ भने बाग्लुङ १ मा काङ्ग्रेसले पनि दाबी राखेको छ । यस्तै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रको भागबण्डाबारे पनि कार्यदल बैठकमा गत शुक्रबारबाट सुरु भएको छ । ०७४ को आम निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनेर कार्यदलले प्रतिवेदन तयार गर्न लागेको हो ।

गतको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँडका विषयमा छलफल भएको थियो । दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने बताउनुभयो । निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने उहाँको भनाइ छ ।