फाइल तस्वीर

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडी मुलुक जान लागेका १ सय ९७ जनालाई नियन्त्रणमा लिइएको छ । यही भदौ ८ गतेदेखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ ।

विमानतर्फ प्रथान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाईयात्रा अनुमति कागजात शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको जनाइएको छ ।

नियन्त्रणमा लिइएका मध्ये १ सय ३ जना महिला र ९४ जना पुरुष रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । रासस