फाइल तस्वीर

काठमाडौं – पाँचदलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्देशनअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ । हिजो बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली काङ्ग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेश गरेका छन् ।

सिट बाँडफाँड टुङ्गोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिनादेखी चलिरहेको भएता पनि निष्कर्षमा भने पुग्न सकेको छैन । कार्यदलको बैठकले विस्तृत अध्ययन प्रतिवेदन बुझाएपछि गठबन्धनका शीर्ष नेताले अन्तिम निर्णय लिनेछन् ।