काठमाडौं – नेकपा एमाले पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव राखिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव राख्नुभएको हो ।

स्थायी कमिटी सदस्य भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गर्नुभएको छ । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताउँदै भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकिर गर्नुभएको छ ।


वाम एकता गरेर श्वेतपत्र जारी गरेमा जनताले दुई तिहाइ मत दिने भुसालको विश्वास छ । उहाँले वाम एकता गरेर अघि बढेमा आसन्न निर्वाचन १५० सिट जित्ने दाबी गर्नुभएको छ ।


‘अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी समेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिस्ट पार्टीको विभाजनका कारण गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिस्टको नालायकी हो,’ घनश्याम भुसालले प्रस्तावमा उल्लेख गर्नुभएको छ, ‘फेरि पनि निर्वाचन आउँदै छ । स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा सङ्घीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटमा १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिस्ट पार्टीले गुमाउने छर्लङ्गै छ ।’