काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो ।

बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेण्डा बनाएको बताइएको छ । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका खुला गर्ने निर्णय गरेको थियो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनबारे सामान्य जानकारी गराउने कार्यसूची छ । भदौ १० र ११ गते एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । भदौ ७ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।

आजको पोलिटब्युरो बैठकमा प्रदेशसभा र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।