काठमाडौं – आज नेकपा एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै छ । निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा आज भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो । कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

गत वर्ष नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आज दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पार्टी पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिनुभयो । उहाँले आफूहरूको पार्टी पुनर्गठनपश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताउनुभयो ।