चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक केपी शर्मा ओलीले अरू काम नगरेको आरोप लगाउनुभएको छ । चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उहाँले आफूलाई ओलीले चितवनमा असफल पार्ने बाहेक अरू काम नगरेको आरोप लगाउनुभएको हो ।

राजनीतिक स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उहाँले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गर्नुभयो ।

‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिस्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्ने र प्रचण्डलाई कसरी हुन्छ चितवनमा असफल पार्ने भन्ने बाहेक प्रधानमन्त्रीका रूपमा मेरा सह अध्यक्ष (केपी शर्मा ओली) को अर्को भूमिका देख्न पाइनँ ।’