काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहानै बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि ओली बालुवाटार पुग्नुभएको हो ।

ओली र देउवाबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । भेटको मुख्य विषय नखुलाइए पनि प्रतिनिधिसभाबाट दोस्रोपटक जारी गरिएको नागरिकता विधेयक, ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनलगायतका विषयमा छलफल चलिरहेको बताइएको छ ।

समसामयीक राजनीतिका विषयमा छलफल गर्न ओली बालुवाटार पुग्नुभएको ओलीको सचिवालयले जानकारी दिएको छ। ‘समसामयीक विषयमा छलफल गर्न अध्यक्ष ओली बिहान ९ बजे बालुवाटार पुग्नुभएको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पहिलोपटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि प्रतिनिधिसभाले पुन: पारित गरिसकेको छ । दोस्रोपटक पारित गरेर पठाइने विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता छ । तर, नागरिकता विधेयकका केही प्रावधानमा असहमति जनाउँदै एमालेले दुवैपटक विपक्षमा मतदान गरेको थियो । यसर्थ, निर्वाचनका वेला त्यसको असर नदेखियोस् भन्नेमा एमाले सचेत देखिन्छ ।