फाइल तस्वीर

काठमाडौं – सत्तारुढ गठबन्धनको सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

यसअघि मङ्गलबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । मङ्गलबारको बैठकमा नेताहरुले चाँडोभन्दा चाँडो सिट बाँडफाँड टुङ्ग्याउन दबाब दिएका थिए । यद्यपि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएर अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक स्थगित भएको थियो ।

०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा सिट बाँडफाँड अघि बढाउन शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । तर अन्तिम टुङ्गो भने लाग्न बाँकी रहेको छ । यद्यपि, भोलिसम्ममा सिट बाँडफाँडको विषयलाई टुङ्ग्याउन प्रयत्न भइरहेको नेताहरुले बताएका छन् । सिट बाँडफाँडको आधारहरुको विषयमा छलफल भइरहेको र भोलि अर्थात् भाद्र ९ गतेभित्र टुङ्गिने कार्यदलका एक नेताले जानकारी दिनुभएको छ ।