काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताउनुभएको छ । आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने बताउनुभएको हो ।

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उहाँको भनाइ छ । उहाँले माओवादी केन्द्रसँग चुनाव अघि एकताको सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी र एकीकृत समाजवादीसँग बिचार र राजनीतिक कार्यदिशामा पनि एकरूपता रहेकाले र फेरी पनि बामशक्तिहरू एक ठाउँमा आउनुपर्ने भएकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको बताउनुभयो । उहाँले अहिले चुनावी तालमेल गर्ने दलहरुबीच भने साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जाने बताउनुभयो ।