फाइल तस्वीर

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्युरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा.अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुनेछ । यस्तै आगामी पोलिटब्युरो र केन्द्रीय कमिटिको एजेन्डा पनि बैठकले तय गर्ने छ ।

पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो । रासस