चितवन– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्‍याएका छन । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीसहित संयुक्त सर्घष समितिले आह्वान गरेको बन्दको प्रभाव हेटौंडामा पनि परेको छ । हिजो साँझ हेटौडाको लोकप्रिय चोकदेखि मउबासंघ चोकसम्म राके जुलु निकालेर बन्दको आह्वान गरेपछि आज बिहानैबाट पसलहरू खुलेका छैनन् । क्याम्पसका बसहरू पनि बन्द रहेका छन् ।

बन्दको कारण हेटौंडा बजार सुनसान छ । केही दिनअघि सरकारले नेकपाका नेकपा महासचिव विप्लवसहित २५ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । संघर्ष समितिले तत्काल पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई अल्टिमेटम दिँदै मंगलबार नेपाल बन्दको घोषणा गरेको हो । बन्दको विकल्प खोज्न व्यवसायीहरूले माग गरेका छन् । प्रहरी परिचालन गरेरै भए पनि पसलहरू खुलाउने आन्तरिक तयारी भइरहेको छ ।

यस्तैगरी दाङमा पनि पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश वलीसहित चारजनालाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।

त्यसैगरी काठमाडौंमा उपत्यकामा पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरूले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महङ्गी बढेको विरोधमा विप्लव समूहले मङ्गलबार नेपाल बन्दको आह्वान गरेको थियो ।

निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ । उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ गरेको छ ।