काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलका पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा उनीहरूले आज बन्दको आह्वान गरेका हुन् । काठमाडौंमा उपत्यकामा भने बन्दको प्रभाव सामान्य परेको छ । उपत्यकाबाहिर भने आंशिक प्रभाव परेको छ । धेरैजसो ठाउँमा लामो दुरीका सवारी साधन चलेका छैनन् । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् भने दाङमा एक टिपरमा आगजनी समेत भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । अत्तरियामा टिफिन बक्स जस्तो बस्तु कपडामा बेरेको अवस्थामा र हरैयामा करिब ५० मिटर लामो तारसहित प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको र उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अहिले ती स्थानमा प्रहरीले सुरक्षा दिइरहेको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । त्यस्तै दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।