काठमाडौं – नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधिमण्डलको टोली र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच आइतबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेटवार्ता भएको हो ।

नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ । भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो । सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको उल्लेख गर्नुभयो । राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको पनि उहाँले बताउनुभयो । “फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ । अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौँ,” सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

उहाँले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकामा खुसी समेत व्यक्त गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लिस्याङ हेयोनले आफूहरु नेपाललाई माया गर्ने सांसदहरु रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालका विभिन्न सहरमा फोहोरमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्किएपछि गम्भीरताका साथ अध्ययन गर्ने जानकारी दिनुभयो । भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधिमण्डलका तर्फबाट कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरू नेपाललाई माया गर्ने सांसदहरू रहेको र कोरियामा कार्यरत नेपाली कामदार मिहिनेती भएकाले रोजगारदाताले मन पराउने गरेको उहाँको भनाइ थियो ।

प्रतिनिधि मण्डलमा मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरु बाइयोङ गिलएन, हृयाक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूतपार्क चोङ सुक लगायत सहभागीता थियो । प्रतिनिधिमण्डलका सदस्यले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्किएपछि श्रममन्त्रीसँग छलफल गर्ने जानकारी दिनुभयो । प्रतिनिधिमण्डलले नेपालका विभिन्न सहरमा फोहारमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्किएपछि गहिरो अध्ययन गर्नेे बताएको छ ।