काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्त्वहरूको मनोबल बढ्दै गएको बताउनुभएको छ । आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिरया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानून विपरीत भएको भन्दै त्यस्ता तत्त्वलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गएको बताउनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोही अनुरूप मिति तय गरेको जिकिर गर्नुभयो । एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उहाँको भनाइ छ ।

थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाए पनि आयोगले तीव्र रूपमा आफ्नो काम अघि बढाएको जिकिर गर्नुभयो ।