बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिनुभयोे ।

नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको छ । बैठकले स्वीकृत गरेको वार्षिक कार्यसञ्चालन तालिका अनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरूको सम्झौता गरिनेछ । स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरूको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।

क्रमागत योजनाहरू मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरूको सुपरीवेक्षण, अनुगमन गरिसक्नुपर्नेगरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिनुभयो । नगर क्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्सांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषिउपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रूपमा अघि बढाउने निणर्य गरेको छ । यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संशोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निणर्य गरेको प्रवक्ता रानाले जानकारी दिनुभयो ।