काठामाडौं – नेपाली काङ्ग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली व्यक्त गर्नका लागि राखिएको छ । अध्यक्ष प्रचण्डले सानेपामा पुगेर गिरीको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुनेछ । उहाँको पार्थिव शरीरमा पार्टीका शीर्ष नेताहरुले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गिरीको शनिबार राति ९:३० बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । क्यान्सरको उपचार गराइरहनुभएका गिरीलाई निमोनिया भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो ।