काठमाडौं – आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगितको सूचना टाँस गर्ने तयारी छ । बैठक आज दिउँसो ११ बजेका लागि तय भएको थियो । काङ्ग्रेस सचेतक मीनबहादुर विश्वकर्माका अनुसार, हामीले सभामुखलाई आजको बैठक स्थगित गर्ने र भोलि १ बजेका लागि बोलाउन आग्रह गरेका छौं ।

भोलि बस्ने बैठकमा काङ्ग्रेसका दिवंगत नेता प्रदीप गिरिको शोक प्रस्ताव पारित हुनेछ । संसद सचिवालय स्रोतका अनुसार बैठक स्थगित गर्नका लागि तयारी अघि बढेको छ । ‘कांग्रेसको नेतृत्वमा बैठक स्थगित हुनसक्छ,’ संसद सचिवालय स्रोतले भन्यो ।

बहालवाला सांसदहरुको अन्त्येष्टिपछि संसदको शोक प्रस्ताव पारित गर्ने प्रावधान छ । गिरि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।