फाइल तस्वीर

चितवन – नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आसन्न निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्र गठबन्धन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जित्ने स्वार्थका लागि मात्र एमालेले गठबन्धन नगर्ने बताउनुभएको हो ।

नेपाली काङ्ग्रेसबाहेकका दलहरू पटक–पटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उहाँले भन्नुभयो, “लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।” दलहरू स्वार्थकेन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उहाँले त्यसलाई एमालेले स्वीकार नगरेको बताउनुभयो ।

एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो । उहाँले भन्नुभयो, “वैचारिक र राजनीतिक रूपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेण्डा एमालेसँग छ । त्यो एजेण्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ ।” उहाँले लक्ष्यबिनाको चुनावी गठबन्धन एमालेले नगर्ने बताउनुभयो । रासस