फाइल तस्वीर

काठमाडौं– नेकपा –एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गर्नुभएको छ । उहाँले नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा यस्तो आग्रह गर्नुभएको हो ।
पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, मार्क्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धता बिर्सनु नहुनेको उहाँको भनाइ छ । उहाँले कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरू जहिले पनि देशमा आएका सङ्कट टार्न अग्रसर भएको बताउनुभयो । राणा शासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिस्ट पार्टीहरूको योगदान अतुलनीय छ ।

उहाँले अहिले राजनीतिमा ‘म’ वादी संस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बतानुभयो । ‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता हुँदैन । उहाँले भन्नुभयो, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन । तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस् ।’