फाइल तस्वीर

सुनसरी – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक संसद्बाट जस्ताको त्यस्तै पारित हुने बताउनुभएको छ । शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुन: पठाइने बताउनुभयो । उहाँले योपटक भने नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘नागरिकता विधेयकलाई संसद्को दुवै सदनबाट पारित गराएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाइएको थियो । तर अहिले राष्ट्रपतिजीले केही सुझावसहित त्यो विधेयकलाई फिर्ता गर्नुभएको छ । त्यो विधेयकलाई फेरि प्रतिनिधिसभाले अगाडि जसरी पारित गरेको थियो । त्यसरी नै पारित गरेको छ । अब राष्ट्रियसभामा पारित हुनेछ । कतिपय पत्रपत्रिकामा मैले देख्ने गर्छु । कतिपय ठाउँहरुमा मैले टिप्पणी भएको सुन्ने गरेको छु । अब संसद र राष्ट्रपतिको बीच टकराव आयो । यो टकरावको बेला होइन ।’

उहाँले भन्नुभयो, ‘हामीले मुलुकलाई एकता, सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर लिएर जानुपर्ने अहिलेको हाम्रो मुलुकको जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्नका निमित्त संविधानले जुन परिकल्पना गरेको छ । राष्ट्रपतिलाई फेरि विधेयकलाई फिर्ता गर्ने संवैधानिक अधिकार छ, त्यसैले भन्ने गरिन्छ राष्ट्रपति संस्थाबाट गल्ती हुँदैन । अब चाँडै नै राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएर आएपछि नागरिकताविहीनको समस्या अन्त्य हुनेछ ।’

मन्त्री कार्कीले राष्ट्रपति र संसद् टकरावतिर लाग्न नहुने भन्दै सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले चाँडै नै राष्ट्रियसभाबाट समेत विधेयक पारित भएपछि नागरिकताविहीनको समस्या अन्त्य हुने बताउनुभयो ।