काठमाडौं – नेपाली काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुग्नुभएको छ । नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल भएको बताइएको छ । गिरिलाई भेट्न राष्ट्रपति भण्डारी आज शनिवार मेडिसिटी पुग्नुभएको हो । आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको स्वास्थ्य अवस्था क्रिटिकल रहेको निकट स्रोतले जनाएको छ । भारतमा लामो समय उपचार गरेर फर्किनुभएको गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ । भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो। गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल पुग्नुभएको थियो । यस्तै, बुधवार साँझ सभामुख अग्निप्रसाद सापकोटाले पनि गिरिको उपचारबारे अस्पतालमा पुगेर जानकारी लिनुभएको थियो ।

प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किनुभएकोथियो । उहाँको उपचारमा डा.पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली संलग्न रहेको बताइएको छ । निकट स्रोतका अनुसार बिहीवारदेखि स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।