काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले आज पनि पदाधिकारीको टुङ्गो लगाउन सकेन । पार्टी मुख्यालयमा आज बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुङ्गिएको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको छ । उहाँले पदाधिकारी चयनका विषयमा लगभग टुङ्गामो पुगेको र भोलि शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने जानकारी दिनुभयो । प्रवक्ता महराले भन्नुभयो, ‘मूर्त रुपमा त टुङ्गिएको छैन, भोलिको बैठकले टुङ्ग्याउँछ । छलफलका विषयहरू कुनै पनि बाँकी राखेका छैनौ । राम्रो छलफल भएको छ ।’ पटक पटक पदाधिकारी टुङ्ग्याउने भनिए पनि अहिलेसम्मका बैठकले ठोस निर्णय गर्न सकेको छैन ।

बुधबार बसेको पार्टीको बैठकले पदाधिकारीबाहेक सबै समितिको टुङ्गो लगाइसकेको छ । माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन । उहाँले भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले आज पदाधिकारीका विषयलाई थाती राखिएकोे बताउनुभयो ।