काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ सङ्गठन वाईसीएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न निर्देशन दिनुभएको छ । आज सभागृहमा आयोजित योङ कम्युनिस्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएललाई शान्तिपूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिनुभएको हो ।

माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति सम्भव रहेको बताउँदै प्रचण्डले वाइसियललाई आफूहरू सहायक सङ्गठन भएको भन्दै विश्राम लिन छुट नभएको समेत बताउनुभयो । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उहाँले यसमा लाग्न पनि निर्देशन दिनुभयो ।

उहाँले क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रूपमा सङ्घर्ष गर्नुपर्ने भन्दै अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न सक्दैन ।’यस्तै फरक प्रसंगमा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्ने बताउनुभयो ।