काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार हुनका लागि विभिन्न मापदण्ड तोकेको छ । आगामी मंसिर ४ गते हुने चुनावका लागि सत्तारुढ दल एकीकृत समाजवादीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि मापदण्ड बनाएको छ । सत्ता गठबन्धनले टिकट बाँडफाँडका लागि कार्यदल बनाएर सहमतिका लागि गृहकार्य गरिरहेका बेला एकीकृत समाजवादीले आफ्ना पार्टीका तर्फबाट उम्मेदवार हुनेहरुका लागि मापदण्ड तय गरेको हो ।

सो मापदण्डमा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको मापदण्ड उम्मेदवार हुनेले पूरा गर्नुपर्नेछ । पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति हुनुपर्ने मापदण्डमा उल्लेख छ । कार्यक्षमता राम्रो भएको र सक्रिय, समावेशीताको सिद्धान्त विपरित नहुने पनि उम्मेदवारका लागि मापदण्ड तय गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले यही भदौ २० गतेभित्र प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव डा बेदुराम भुसालले आगामी मंसिरमा हुने दुवै निर्वाचनको उम्मेदवारका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले यही भदौ १५ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने निर्णय गरेको भन्दै महासचिव भुसालले यसका लागि उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत निर्धारण गरेको जानकारी दिनुभयो ।